१६ असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकाको महिला तथा बालबालिका शाखाले गाउपालिकामा रहेका महिला बालबालिका,अपांगता भएका व्यक्ति,जेष्ठ नागरिक यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको तथ्यांक संकलन गरेको छ। गत असार ११ गते देखि शुरु भएको तथ्यांक संकलन गर्दा गाउपालिकामा एक जना मात्र तेश्रो लिंगीको रुपमा पहिचान गरिएको छ।
महिला तथा बालबालिका शाखाका महिला बिकास निरीक्षक राधा भट्टराईका अनुसार गाउपालिकाको वडा नं. ३ मा अल्पसंख्यकको रुपमा एकजना तेश्रो लिंगीको रुपमा पहिचान भएको हो । कञ्चनको ५ वटै वडामा संकलन गरिएको तथ्यांक अनुसार गाउँपालिकामा ३ सय ४९ जना अपांगता भएका व्यक्तिहरुको पहिचान गरिएको महिला बिकास निरीक्षक भट्टराईले जानकारी दिनु भयो।
गाउँपालिकामा रहेका महिला बालबालिका,अपांगता भएका व्यक्ति,जेष्ठ नागरिक यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको नियमित अध्यावधिक गर्दा उनिहरुको यथार्थ जनसंख्या विवरण पत्ता लगाउन हरेक वडामा पुगि तथ्यांक संकलन गरिएको महिला बिकास निरीक्षक राधा भट्टराईले जानकारी दिनु भयो । असार ११ गते देखि १६ गते सम्म एक साता समय लगाएर गरिएको तथ्यांकबाट गाउँपालिकामा ४ हजार २ सय १९ जना जेष्ठ नागरिक रहेको पत्ता लागेको छ। यस्तैगरी बालबालिकाहरुको संख्या १४ हजार ३ सय ९९ जना र २३ हजार २ सय ३९ जना महिला रहेको कञ्चन गाउँपालिका महिला तथा बालबालिका शाखाका महिला बिकास निरीक्षक राधा भट्टराईले जानकारी दिनु भएको छ।
यसरी नियमित अध्यावधिक गर्दा गाउँपालिकालाई पनि महिला बालबालिका,अपांगता भएका व्यक्ति,जेष्ठ नागरिक यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको क्षेत्रमा बजेट विनियोजन गरी उनिहरुको सामाजिक, आर्थिक, सांस्कृतिक,शैक्षिक आदी क्षेत्रको दिगो बिकास गर्न सहयोग पुग्ने महिला बिकास निरीक्षक भट्टराईले बताउनु भयो।