ठूलो लुम्पेक,गुल्मी
गुल्मीको सत्यवती गाउँपालिका वडा नं. ३ ठूलो लुम्पेकमा विगत लामो समयदेखि सञ्चालन हुँदै आएको साहित्य यात्रा विषयगत हुने भएको छ । वडा कार्यालयको पहलमा आयोजित जनप्रतिनिधि, राजनीतिक दलका प्रनिनिधि, प्राज्ञ, लेखक एवं साहित्यकार तथा सरोकारवालाहरुको बीच भएको छलफलले साहित्य लेखन एवं नियमित श्रृंखलालाई बिषयगत र व्यवस्थित गर्ने निर्णय गरेको हो ।
छलफलमा वडा अध्यक्ष जितु तरामु मगरले वडाभित्र गरिने सबै कार्यक्रम एवं गतिविधिहरुलाई व्यवस्थित र परिणामुखी बनाउने उद्देश्य सहित कार्यालयको तर्फबाट पहल गरिएको बताउदै साहित्य कला क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले साहित्य कला समाजको महत्वपूर्ण बिषय भएको भन्दै यसलाई अगाडी बढाउन साहित्यकारहरु एक हुनुपर्ने बताउनुभयो ।
प्राज्ञ एवं वरिष्ठ मूर्तिकार भुवन थापा “बहुवि”ले स्थानीय कला र साहित्यको जगेर्ना गर्नुपर्ने भन्दै यसको मुख्य दायित्व स्थानीय सरकार र स्रष्टाहरुको हुने बताउनुभयो ।
बार्षिक कार्ययोजना सहितको बिषयवस्तु प्रस्तुत गर्दै राजनीतिज्ञ, कवि एवं साहित्यकार खोमा तरामु मगरले साहित्य, कला र संस्कृति समाज र जनताको जीवनसित जोडिएको भन्दै यसले सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले संस्कृति मानव निर्मित भएको भन्दै देशभक्तपूर्ण संस्कृतिको संरक्षण गर्दै नयाँ र वैकल्पिक संस्कृति निर्माणमा जोडदिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा ल्हुम्पेक साहित्य यात्राका अध्यक्ष एवं साहित्यकार गुणदेव सिंजालीले साहित्य यात्रा, पुस्तकालय, यसका वर्तमान अवस्था र गतिविधिहरुबारे प्रस्तुत गर्नुभएको थियो ।
छलफलमा आरनमा दलन, पुख्र्यौली गीतमा जनजीवन, लोक चित्रकला, समाज र राजनीति, समाज र आलोचनात्मक चेत, ल्हुम्पेक र पर्यावरण, सहिदी मूल्य र सांस्कृतिक सौन्दर्य, ल्हुम्पेकमा अध्ययन संस्कृति, ल्हुम्पेक कला र चिन्तन, ल्हुम्पेकमा मगर मातृभाषाको इतिहास र स्थानीय भाषाको प्रयोग, गाउँ र सामाजिक सञ्जाल, ल्हुम्पेकको बयान लगायत दर्जनौं शीर्षकमा बिषयगत बुद्धिजीवी एवं लेखकहरुले कार्यपत्र वा अवधारणा पत्र प्रस्तुत गर्ने, बहस एवं छलफल गर्ने, साहित्यकार, लेखक, शैक्षिक एवं सामाजिक व्यक्तित्व, अनुसन्धानकर्ता, ललितकला क्षेत्रका कलाकार, चित्रकार र नयाँ सिर्जनशील प्रतिभाहरुलाई कार्यक्रममा सहभागि गराउने निर्णय गरेको छ ।
छलफलले पुस्तकालयलाई व्यवस्थित गर्ने, स्थानीय साहित्य कलालाई डिजिटल सञ्चारसित जोड्ने, प्रकाशनलाई व्यवस्थित गर्ने र सांस्कृतिक संग्रहालयलाई समेत अगाडी बढाउने निर्णय गरेको छ ।
ठूलो लुम्पेकमा निकै लामो समयदेखि साहित्य एवं सांस्कृतिक गतिविधिहरु हुँदै आइरहेका छन् । यहाँका आधा दर्जनभन्दा बढी लेखक एवं साहित्यकारहरुका विभिन्न विधाका पुस्तकहरु प्रकाशित रहेका छन् भने दुई दर्जन भन्दा बढी साहित्यकारहरुले विभिन्न विधामा नियमित कलम चलाउदै आएका छन् । यसैगरी ल्हुम्पेकबाटै साहित्यिक यात्रा तय गरेका मुर्तिकाद्वय भुवन थापा “बहुवि” र यम बहादुर थापा प्राज्ञ हुन भने सुमित्रा राना सुत्पराईले बिभिन्न राष्ट्रियस्तरको पदक तथा पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन। यस्तै खोमा तरामु मगर प्रगतिशिल साहित्यका प्रखर वक्ता र बहुचर्चित उपन्यास सपनाका भञ्ज्याङ्गतिर कृतिका लेखक हुन। लुम्पेकका बिभिन्न स्थानहरुमा घुम्ति कार्यक्रमको रुपमा संचालन गरिने साहित्यिक यात्राले ठूलो लुम्पेकका बिभिन्न पर्यटकिय स्थल र त्यस ठाउको साहित्य, कला र संस्कृतिको पुनरजागरण गर्ने बिस्वा गरिएको छ।