#शेखर अर्याल
सैनामैना नगरपालिका साविकको तीन गाविस मिलेर बनेको पालिका हो । यस नगरपालिकालाई पर्यावरणीय हिसाबले एक सुन्दर र ऐतिहासिक पुरातात्विक नगरपालिका भनेर समेत चिनिन्छ । जहाँ विश्व शान्तिका अग्रदुत तथा महामानव गौतम बुद्धको जन्मस्थल लुम्विनी देखि करिब १५ कि.मी. उत्तर मनोरम चुरे पहाडको काखमा पनि अवस्थित छ ।
साबिकको पर्रोहा र दुधराक्ष गा.बि.स. एक आपसमा गाभेर २०७१ साल बैशाख २५ गते सैनामैना नगरपालिका बनेको हो । वि.सं. २०७३ साल फागुन २७ गते राज्यको पृर्नःसंरचना पश्चात साबिकको सालझन्डी गा.बि.स. पुन: समेटेर वृहत सैनामैना नगरपालिका बन्न सफल भएको हो ।
नेपाल सरकारबाट नेपालको सयौं पर्यटकीय गन्तव्य मध्ये सैनामैना नगरपालिका पनि २०७५ सालमा पर्यटन गन्तव्यको रुपमा घोषणा भइसकेको छ । सैनामैना धार्मिक, ऐतिहासिक एवम् साँस्कृतिक महत्व बोकेको पालिका हो । जहाँ दोस्रो पशुपतिनाथ भनेर चनिने श्री पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाम, रानीकुवा क्षेत्र, ठूलो कुवा, मलमला मन्दिर लगायतका धार्मिक क्षेत्रहरु छन् । नगरलाइ बुद्धकालिन शहर भनेर समेत चिनाउनने प्रयत्न गरिएको छ। यहाँ बुद्ध सँग सम्बन्धित मुर्ति र भग्नावशेषहरु फेला परेका छन् ।
नगरमा पर्यटनको क्षेत्रमा धेरै सम्भावना बोकेको दोस्रो पशुपतिनाथ भनेर चिनिने श्री पर्रोहा परमेशवर ज्योर्तिलिङ्ग बोलबम धामलाई लुम्बिनी प्रदेशकै प्रमुख धार्मिक एवम् ऐतिहासिक पर्यटकीय स्थल बनाउने लक्ष्य सहित पालिकाले गुरुयोजना निर्माण गर्दै छ ।गुरुयोजना अनुसार पहिलो चरणमा धाममा प्यागोडा शैलीमा तामाको छानोसहित दुईतल्ले मूल मन्दिर बन्नेछ । नगरमा ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक मूल्यहरुको पहिचान, संरक्षण र विकास गर्ने कामलाई तीव्रता दिइएको छ । पर्रोहा बोलबम धाममा विशेषगरी श्रावणी मेला लाग्ने गर्दछ । श्रावणको प्रत्येक सोमबार दर्शनार्थीको घुइँचो लाग्दछ ।
हरेक वर्ष श्रावणी मेलामा जलार्पणको लागि नेपालका विभिन्न स्थानबाट आउने गर्दछन् भने भारतमा पनि यस धामको प्रख्याती छ । नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योतिर्लिङ्ग मानिने पर्रोहा बोलबम धाममा विशेष गरी साउन महिनाभरी सोमबारका दिन पहेंलो बस्त्र धारी दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ ।
अन्य महिनाभन्दा साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै साउन महिनाका सोमबार शिव मन्दिरहरूमा पूजा गर्दै शुद्ध जल र दूध चढाउने तथा दान गर्ने परम्परा पनि छ । यहाँ कपिलवस्तुको लक्ष्मणघाट, नवलपरासीको त्रिवेणी, गुल्मीको रिडी, पाल्पाको राम्दी लगायतका स्थानबाट जलार्पणका लागि भक्तजनहरू आउने गर्दछन् । शिव ज्योतिर्लिङ्गमा जलार्पण गरे सुख शान्ति र मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।
विशेस गरि शिव मन्दिरको रुपमा प्रसिद्ध रहेको यस मन्दिरमा गणेश,सन्तोषी माता, माता पार्वती, लक्ष्मीनारायण भगवान, राधाकृष्ण भगवान,नागदेवता तथा चन्द्रआकारको सरोवरमा १०८ शिवलिङ्गहरु पनि स्थापित गरिएको छ । पर्रोहा परमेश्वर शिव ज्योर्तिलिङ्ग बोलबम धाम रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको ऐतिहासिक तथा पुरातात्विक देवस्थल हो । यस धार्मिक स्थललाई पर्यटन प्रर्वद्धन गर्नु हामी सबैको दायित्व हो । यसबाट सैनामैनालाइ अन्तरराष्ट्रिय स्तरमा चिनाउन समेत मद्दत पुग्छ ।